कित्ताकाट गर्दा कति क्षेत्रफल आवश्यक पर्छ?
कुनै पनि कित्ता कित्ताकाट गर्दा आवश्यक पर्ने न्युनतम क्षेत्रफल उक्त कित्ताको भु-उपयोग बर्गीकरणको किसिम र लिखतको किसिममा भर पर्छ।
(क) भू-उपयोग नक्सा अद्यावधिक गरि कित्तागत विवरण गर्ने कार्य समेत सम्पन्न गरिसकेका स्थानिय तहको हकमा
१. यदि कुनै कित्ता कृषि क्षेत्रमा बर्गीकरण गरिएको रहेछ भने उक्त कित्ता कित्ताकाट गर्दा लिने र दिने दुबै पक्षलाई कम्तिमा १००० बर्गमिटर आवश्यक पर्दछ। अर्थात लिने पक्षले पनि न्युनतम १००० ब.मी जग्गा लिन पर्ने र दिनेलाई पनि न्युनतम १००० ब.मी जग्गा बच्नुपर्ने मापदण्ड (भु-उपयोग नियमावली २०७९ बमोजिम) रहेको छ।
२. तर यदि कुनै कित्ता आवासीय क्षेत्रमा बर्गीकरण गरिएको रहेछ भने उक्त कित्ता कित्ताकाट गर्दा लिने र दिने दुबै पक्षलाई कम्तिमा १३० बर्गमिटर आवश्यक पर्दछ। अर्थात लिने पक्षले पनि न्युनतम १३० ब.मी जग्गा लिन पर्ने र दिनेलाई पनि न्युनतम १३० ब.मी जग्गा बच्नुपर्ने मापदण्ड (भु-उपयोग नियमावली २०७९ बमोजिम) रहेको छ।
(ख) भू-उपयोग नक्सा अद्यावधिक गरि कित्तागत विवरण गर्ने कार्य सम्पन्न गरिनसकेका स्थानिय तहको हकमा
१. यदि कुनै कित्ता धनहर वा खेत (अब्बल,दोयम,सिम,चाहार) तर्फको रहेछ भने उक्त कित्तालाई कृषि क्षेत्रको मापदण्ड बमोजिम कित्ताकाट गरिनेछ। अर्थात उक्त कित्ता कित्ताकाट गर्दा लिने र दिने दुबै पक्षलाई कम्तिमा १००० बर्गमिटर आवश्यक पर्दछ। अर्थात लिने पक्षले पनि न्युनतम १००० ब.मी जग्गा लिन पर्ने र दिनेलाई पनि न्युनतम १००० ब.मी जग्गा बच्नुपर्ने छ।
२. यदि कुनै कित्ता भीट वा पाखो तर्फको अब्बल र दोयम किसिममा पर्ने रहेछ भने माथिको बुदाँ नं. १ (कृषि क्षेत्रको मापदण्ड न्युनतम १०००/१००० ब.मी हुनेगरि) बमोजिमनै कित्ताकाट हुनेछ।
३. यदि कुनै कित्ता भीट वा पाखो तर्फको सिम र चाहार किसममा पर्ने रहेछ भने उक्त कित्ताको कित्ताकाट गर्दा लिने र दिने दुबै पक्षलाई कम्तिमा १३० बर्गमिटर आवश्यक पर्दछ। अर्थात लिने पक्षले पनि न्युनतम १३० ब.मी जग्गा लिन पर्ने र दिनेलाई पनि न्युनतम १३० ब.मी जग्गा बच्नुपर्ने छ।
(ग) साथै भू-उपयोग नक्सा अद्यावधिक गरि कित्तागत विवरण गर्ने कार्य समेत सम्पन्न गरिनसकेका तर मापदण्ड तयार गरि नक्सा अद्यावधिक गर्दै गरेका स्थानिय तहको हकमा सो स्थानिय तहको सिफारिस बमोजिम कित्ताकाट गरिनेछ।
(घ) तर कुनै कित्ता अंशबण्डा, अंश बुझेको भरपाई र लगतकट्टा मार्फत कित्ताकाट हुने भएमा जतिसुकै क्षेत्रफल भएतापनि कित्ताकाट गरिनेछ।
कित्ताकाट किन रोकिएको हो?
नेपाल सरकारले भू-उपयोग नियमावली २०७९ जारी गरे पश्चात सम्बन्धित स्थानिय तहले आ-आफ्नो क्षेत्रको भु-उपयोग नक्सा अद्यावधिक गरि कित्तागत विवरण समेत सम्पन्न गरि सो को विवरण भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय,नापी विभाग, सम्बन्धित नापी तथा मालपोत कार्यालयलाई उपलब्ध गराउनु पर्नेमा सो कार्य तोकिएको समय भित्र सम्पन्न नगरेका स्थानिय तहको हकमा उक्त कार्य सम्पन्न नहुन्जेल सम्मको लागि / नेपाल सरकारले सो सम्बन्धमा सुचना प्रकाशन नगरेसम्म कित्ताकाट रोकिएको हो। तर यसरी भु-उपयोग नक्सा अद्यावधिक गरि कित्तागत विवरण समेत सम्पन्न गरिसकेका स्थानिय तहहरुको हकमा कित्ताकाट रोकिने छैन।